
नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२ औँ संस्करण राजधानीमा हुँदै छ ।
‘सामाजिक न्याय’ नाराका साथ सुरु हुन लागेको महोत्सव देखि २७ गतेसम्म जारी रहने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ ।
चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताउनुभयो ।
मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिँदै आएको उहाँले बताउनुभयो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरू प्रदर्शन हुनेछन् । चार दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुने आयोजक समितिले जनाएको छ ।
महोत्सवको प्रिमियर चलचित्रका रुपमा ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ प्रदर्शन हुनेछ । यो छोटो चलचित्रले कान्सको लुघ विधामा अवार्ड जितेको थियो । त्यस्तै ‘अल वि इम्याजिन एज लाइट’ यही मङ्सिर २५ गते प्रदर्शन हुनेछ । यो फिल्मले कान्समा फिचर विधामा अवार्ड जितेको थियो ।
सुविना श्रेष्ठको निर्देशनमा बनेको ‘देवी’ यही मङ्सिर २६ गते प्रदर्शन हुने आयोजकले जनाएको छ । बर्लिन अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितेको ‘एन अड टर्न’ २६ मंसिर मा प्रदर्शन हुनेछ ।
महोत्सव आयोजनाको अवसर पारेर वृत्तचित्रका ‘मेन्टर’ तथा सम्पादक निलोतपल मजुम्दरले चार दिने कार्यशालाको प्रशिक्षण दिने जनाइएको छ । कार्यशालामा नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागी हुनेछन् ।
महोत्सवका दौरानमा विभिन्न समूहगत छलफल र फोटो प्रदर्शनी लगायत हुने आयोजकले जनाएको छ ।