
गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।
गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्रमा अनुशासन र वितरण महत्वपूर्ण हुन्छ । अवसर, सम्भावना र अर्थ वितरण गर्दा जनतालाई सेवा प्रवाहमा सहजता दिन सक्नुपर्दछ ।”
औपचारिकता बढी भएर उपलब्धि कम भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हरेक गतिविधि छोटो तथा परिणाममुखी बनाउन जोड दिनुभयो ।
सङ्घीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्घीय कानुन बनाउन थालेको तथा त्यसपश्चात् प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ थियो ।
अहिले पनि कर्णाली प्रदेशका सुरक्षा निकायका संरचना प्रदेश बाहिर भएको उल्लेख गर्दै उहाँले स्थानीय तथा प्रदेश सरकारलाई जग्गाको व्यवस्था गर्न अनुरोध गर्नुभयो ।