काठमाण्डौँ , मंसिर ३० :

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

त्यस्तै, यता काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा हिउँ जस्तै सेताम्मे तुसारो परेपछि चिसो बढेको छ ।

तुसारोले टनेल बाहिर लगाइएका आलु लगायतका तरकारी खेतीमा असर परेको किसनले बताएका छन् । तुसारोका कारण चिसोले आलुका बोट नै मर्न थालेको किसान बताउँछन् ।

मङ्सिरमै तुसारो पर्दा बिहानको समयमा दैनिक कार्यमा समेत असर परेको ललितपुर लुभुकी पदममाया सुनार बताउनुहुन्छ । यस वर्ष पुष नलाग्दै तुसारो पर्दा जाडो झन बढेको उहाँको भनाई छ ।


 
आज दिउँसो कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राती पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

 फोटोः तुसारोले सेताम्मे ललितपुर लुभुको आलुबारी र बाझो खेत