
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको छ ।
साथै यसअघिका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।
छलफलपछि समितिले हवाई नीति २०६३ देखि कार्यान्वयनमा आएपनि हवाई उड्डयन सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न समेत निर्देशन दिएको छ ।