
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
उहाँले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गर्नुभयो । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घटनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन-एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिस सहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताउनुभयो । यसरी पटकपटक हवाई दुर्घटना हुनु हाम्रो आकाश सुरक्षित छैन भन्ने सङ्केत गरेको उहाँको भनाइ छ ।
सरकारको नीति, व्यवस्थापन, प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उहाँले जानकारी दिनुभयो ।
साउन २२ गते बसेको मन्त्रिरिषद् बैठकले नेपाली सेनाका १ जना सहायक रथीलाई उपरथी, ४ जना महासेनानीलाई सहायक रथी, १ जना प्रमुख सेनानीलाई महासेनानी र १ जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।