चितवन, पुस १२ :

भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । 

भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो ।
 
जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । 

महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदाय सहितका खानाका परिकार राखिने छन् ।  स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ । 

महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा रहनेछ । महोत्सव अवधिमा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।