
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।
अर्थशास्त्रीसमेत रहनुभएका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिंहको भारतीय समय अनुसार बिहीबार राति करिब पौने १० बजे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बन्नुभएको थियो । पूर्व अर्थमन्त्री समेत रहनुभएका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकार समेत मानिन्छ ।
मनमोहन सिंह भारतीय अर्थतन्त्र सुधारका नायक समेत मानिनुहुन्छ। उहाँको निधनको समयमा काँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुग्नुभएको थियो ।
सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँ पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री रहनुभएको थियो।
उहाँको समयलाई आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।