
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षको कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
निर्देशक घिसिङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
८ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उहाँले जानकारी दिनुभयो।
उहाँले मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ र आव २०७९/८० मा क्रमशः ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको क्रममा रहेको पनि घिसिङले बताउनुभयो ।
तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा रहेको ८९.७ प्रतिशत विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले जानकारी दिनुभयो ।
यस्तै ८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या अहिले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको बताउनुभयो । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी स्थानहरुमा पनि छिट्टै विद्युतीकरण गर्न लागिएको उहाँको भनाई छ ।
यसैगरी ८ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट पुगेको जानकारी दिनुभयो ।