बर्लिन, पुस १८ :

जर्मनीले नयाँ वर्ष मनाउन परम्परागत रूपमा बालेका शक्तिशाली आतिशबाजीका कारण जर्मनीमा पाँच जनाको मृत्यु भएको छ । एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् ।

जर्मनहरूले नयाँ वर्षलाई आतिशबाजीको तीव्र प्रयोगका साथ मनाउँछन् । यसले प्रत्येक वर्ष चोटपटकको उच्च सङ्ख्या साथै प्रदूषण र होहल्ला निम्त्याउने गरेका कारण शक्तिशाली आतसबाजी रोक्ने बारेमा बारम्बार बहस हुने गरेको छ । 

प्रहरी प्रवक्ता फ्लोरियन नाथका अनुसार यस वर्ष भएका दुर्घटनामा परी १३ जना प्रहरी अधिकारी घाइते भएका छन्।

राजधानी बर्लिनमा करिब ३३० जनालाई हिरासतमा लिइएको र विगतका वर्षहरूको तुलनामा यस वर्ष कुनै ठूलो हिंसा वा घटना नभएको प्रहरीले जनाएको छ ।

नर्थ राइन- वेस्टफालियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने पाडेरबोर्न नजिकै २४ वर्षीय एक व्यक्तिको ‘पाइरोटेक्निक रकेट’ विस्फोट हुँदा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्याक्सोनीको ओशाट्जमा ४५ वर्षीय एक व्यक्तिले ‘पाइरोटेक्निक बारुदी गोला’ मा आगो लगाउँदा टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको छ । पुलिसका अनुसार यो शक्तिशाली ‘एफ- ४ श्रेणी’ को आतिशबाजी भएको जनाइएको छ।

स्याक्सोनीको पूर्वी क्षेत्रमा हर्था शहरमा ५० वर्षीय एक व्यक्तिको आतिशबाजी पाइप बम विस्फोट गर्न खोज्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन् ।

उत्तरको ह्याम्बर्ग नजिकै एक २० वर्षीय युवकको आतिशबाजीमा आगो बालेर मृत्यु भएको थियो।

बर्लिन नजिकै क्रेमेनमा पनि एक व्यक्तिको आतिशबाजीको विस्फोटबाट मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। यस्तै घटनामा त्यस क्षेत्रका अन्य तीन जना गम्भीर घाइते भएको एएफपीले जनाएको छ ।