
भारतको मणिपुरको कांगपोकपी जिल्लामा शुक्रबार साँझ एसपी कार्यालयमा भिडले आक्रमण गरेको छ । जसमा एसपी मनोज प्रभाकरसहित अन्य धेरैजना घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले भनेको छ, ‘इम्फाल पूर्वी जिल्लाको सिमानामा रहेको साइबोल गाउँबाट केन्द्रीय सुरक्षा बलको कथित असफलतालाई लिएर विवादमा यो आक्रमण भएको हो ।’
सुरक्षाकर्मी र आक्रमणकारीबीचको झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएको समाचारमा जनाइएको छ ।
गत डिसेम्बर ३१ मा साइबोल गाउँमा सुरक्षाकर्मीले महिलामाथि गरेको लाठीचार्जको विरोधमा कुकी संगठनले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।
कुकीबहुल जिल्लामा चौबीस घण्टा बन्दको आह्वान गरिएको थियो । सोही क्रममा हिंसात्मक घटना भएको थियो ।
शुक्रबार दिउँसो ठूलो प्रदर्शन गरिएको थियो । त्यसपछि एसपी कार्यालयमा ठूलो संख्यामा मानिस भेला भएका थिए । साइबोलमा तैनाथ केन्द्रीय सुरक्षा बल हटाउनुपर्ने उनीहरुको माग थियो ।
शुक्रबार जारी एक विज्ञप्तिमा मणिपुर पुलिसले भन्यो, ‘सुरक्षा बलहरूले आक्रमणलाई असफल पार्ने प्रयास गरे र भिडलाई तितरबितर पार्न बल प्रयोग गरे । स्थिति नियन्त्रणमा छ । काङपोकपी एसपीको उपचार भइसकेको छ र अहिले उनी संयुक्त सुरक्षा बलको नेतृत्व गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।’
यो हिंसामा १५ प्रदर्शनकारी घाइते भएको स्थानीयले बताएका छन् । मे ३, २०२३ मा राज्यमा कुकी र मेइती समुदायबीच हिंसा सुरु भएको थियो ।