साउन २८ :

अमेरिकाका ३ वटा राज्यमा कमला ह्यारिस अगाडि रहेको निर्वाचन सर्बेक्षणले देखाएको छ ।

 आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेद्वार कमला ह्यारिसको मिसिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा टम्पभन्दा अगाडि रहने हालै सार्वजनिक एक सर्भेक्षणले देखाएको हो ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको सफलतालाई राष्ट्रपति जो बाइडेनको प्रतिस्पर्धाबाट बाहिरिने निर्णय र ह्यारिसको चुनावी अभियानमा देखिएको व्यापक सहभागिताले क्षीण बनाएको सर्भेक्षणमा उल्लेख छ ।

न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा ह्यारिसले मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा समान ५० देखि ४६ प्रतिशतको अन्तरले ट्रम्पलाई पछाडि पारेको देखाएको छ । अमेरिकी ‘इलेक्टोरल कलेज भोटिङ’ प्रणाली अन्तर्गत् मध्यपश्चिमका यी तीन राज्यलाई कुनै पनि दलको जितका लागि महत्वपूर्ण मानिएको छ ।

यो सर्वेक्षण नतिजा ती राज्यहरूमा यस पहिलेका सर्वेक्षणबाट देखिएको नतिजा विपरित छ । अघिल्ला सर्भेक्षणहरूले लगभग एक वर्षसम्म ट्रम्पलाई डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनसँग समान वा थोरै अग्रता गरेको देखाएका थिए ।

बाइडेनले गत महिना राष्ट्रपतिको दौडबाट बाहिरिँदै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्नुभएको थियो । नोभेम्बर ५ मा हुने निर्वाचनअघिको करिब तीन महिनामा धेरै कुरा परिवर्तन हुन सक्छ । सर्वेक्षणले मतदाताहरूले अझै पनि अर्थव्यवस्था र आप्रवासनका प्रमुख मुद्दाहरूमा भने ट्रम्पलाई प्राथमिकता दिएको देखाएको छ ।।