इटहरी, पुस २२ :

बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ले निर्माणका क्रममा भव्य कालीमाताको मूर्ति तयार गरेको छ । चलचित्रको कथाअनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्शाउने ४२ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि, निर्माण टोली भारतको कोलकातामा गएर त्यहाँका कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको बताए । ‘चलचित्रका लागि हामीलाई एउटा अद्वितीय र विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहना अनुसारको मूर्ति पाएनौं । अन्ततः, हामी भारतको कोलकाता पुग्यौँ । त्यहाँका कालिगडहरूसँग मिलेर ४२ फिटको काली माताको मूर्ति निर्माण गर्‍यौँ,’ सेनले भने ।

मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहे पनि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । चलचित्रको छायांकन नसकिँदै ‘काली चौर’का रूपमा परिचित यो स्थान चर्चित स्थल बनेको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलले स्थानीयलाई रोजगारीको अवसर पनि दिएको छ । यहाँ एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशकले जनाए ।

चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’को छायांकन लगभग पूरा भइसकेको छ । छायांकन सकिएपछि टिजरसहित चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने उनले बताए ।

चलचित्रको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।

‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित छ । ‘आसुसेन फिल्म्स प्रालि’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।