काठमाडौं, पुस २५ :

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।

देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेसनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो ।  वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो ।

यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ ।

त्यसैगरी, एफक्युब सिनेमाजले र बीएसआर मुभिजले समान ६-६ शो उपलब्ध गराएका छन्।  बिग मुभिज र वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

चलचित्र ‘कार्साङ’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।

२ घण्टा ५ मिनेटको ‘कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह-निर्मातामा गोविन्द बोहोरा छन् । आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन् ।