.jpg)
सीमावर्ती क्षेत्रका किसानले पनि धेरै समस्या भोग्नुपरेको छ ।
सेख हसिनालाई बंगलादेशमा ५ अगस्त २०२४ मा सत्ताबाट हटाइयो । त्यसयता बंगलादेशबाट लगातार यस्ता समाचार आइरहेका छन् जसले भारतसँगको सम्बन्धमा तिक्तता देखाउँछ ।
यस्तो अवस्थामा भारत र बंगलादेशको सीमा क्षेत्रमा पनि तनाव देखिएको छ । कालीपुर गाउँ भारत-बंगलादेशको त्रिपुरा सीमामा अवस्थित छ ।
४० परिवार मात्रै बसोबास गर्ने गाउँका अधिकांश मानिसको लुगा फलामको तारले बनेको बारमा देख्न सकिन्छ ।
५ अगस्तअघि कालीपुरका जनताको जनजीवनमा सबै सामान्य थियो तर अहिले बीएसएफको कडा निगरानी र त्रासको वातावरण छ । साँझ ५ बज्नका लागि अझै केही मिनेट बाँकी छ । कालीपुर गाउँका पुतुल मालाकार सबै काम सकेर घर पुग्न हतारोमा छन् ।
गत ५ अगस्तसम्म पुतुल मालाकारलाई चाँडै घर फर्किने कुरामा त्यति चिन्ता थिएन ।
यो परिवर्तन र डरबारे पुतुल मालाकार भन्छन्, ‘हामीले सीमा क्षेत्रमा निकै समस्या भोगिरहेका छौं, अहिले निकै तनाव छ, डरको छायामा रात काटिरहेका छौं । कतिखेर अशान्ति फैलिन्छ ? यहाँ वा त्योतर्फ हामी अहिले डरमा बाँचिरहेका छौं कि कसैले हामीलाई आक्रमण गर्नेछ ।’
के भन्छन् स्थानीय बासिन्दा ?
कालीपुर गाउँका बासिन्दाको लुगा सीमामा लगाइएको काँडेतार (फेन्सिङ) मा देखिन्छ ।
भारतीय सिमानामा लगाइएको तारबारलाई अहिले यहाँका गाउँलेहरूका लागि एक प्रकारको सुरक्षा कवचका रूपमा हेरिएको छ ।
कालीपुर गाउँको अहिलेको अवस्था यस्तो छ कि बीएसएफलाई नसोधी यहाँ कोही पनि अपरिचित व्यक्ति आउन सक्दैन ।
गाउँमा प्रवेश गर्नुअघि रहेको चेक पोस्टमा बीएसएफ जवानहरूले कडा सुरक्षा रहेको छ । यहाँ आउने-जाने मानिसको सीसीटीभीबाट पनि निगरानी गरिन्छ ।
यस्तो सुरक्षा व्यवस्थाका बारेमा ६७ वर्षीय पुतुल मलाकार भन्छन्, ‘जबदेखि बंगलादेशमा अशान्ति भयो, त्यसबेलादेखि बीएसएफले यहाँको अवस्थालाई कडा बनाएको छ । ५ महिनाअघि यस्तो अवस्था थिएन ।’
गत ५ अगस्तसम्म पुतुल मालाकार चाँडै घर फर्किनेमा त्यति चिन्तित थिएनन् ।
पुतुल भन्छन्, ‘बीएसएफले पनि राति अबेर बाहिर ननिस्कन भनेको छ । म साँझ परेपछि घर आइहाल्छु । अहिले बाहिरबाट कोही आफन्त गाउँमा आएमा पहिले बीएसएफको चेकपोस्टमा उनको परिचयपत्र देखाउनुपर्ने बाध्यता छ ।’
‘बंगलादेशको अस्तव्यस्तताका कारण हामी आफ्नै खेतमा पनि जान सकेका छैनौं । तारबारभन्दा उतापट्टि गाउँका आधाभन्दा बढी मानिसको खेतबारी छ । तर अहिले त्यहाँ कोही पनि जाँदैनन् ।
उत्तर-पूर्वी भारतको असम, मेघालय, मिजोरम र त्रिपुराको बंगलादेशसँग कुल १,८७९ किलोमिटर लामो अन्तर्राष्ट्रिय सिमाना छ । यी चार राज्यमध्ये त्रिपुरासँग ८५६ किलोमिटरको सबैभन्दा ठुलो सीमा छ ।
त्रिपुराको मात्र उनाकोटी जिल्लासँग ७३ किलोमिटरको अन्तर्राष्ट्रिय सिमाना छ जहाँ कालीपुरजस्ता १५ भन्दा बढी गाउँ अवस्थित छन् ।
‘अवस्था विभाजनकै दिनजस्तो’
सीमावर्ती क्षेत्रका बासिन्दा विभाजनका बेलाजस्तो अवस्था बनेको बताउँछन् । यो तस्बिर सीमा क्षेत्रमा बस्ने दिलीप दासको हो ।
सोही जिल्लाको सानो गाउँ समरूरपार दिलीप दास पनि अहिलेको अवस्था देखेर निकै चिन्तित छन् ।
भारत-बंगलादेश सिमानामा तारबारबाट केही मिटर टाढा परिवारसहित बस्ने ४८ वर्षीय दिलीप दासका अनुसार अहिलेको अवस्था बंगलादेशसँग नयाँ विभाजन भएको जस्तै छ ।
‘यो दुई देशबीचको नयाँ विभाजन हो । हाम्रा धेरै आफन्तहरू बंगलादेशमा रहेकाले यसले हामीलाई ठुलो असर पारेको छ,’ दिलीप भन्छन्, ‘पाँच महिना अघिसम्म हामी एक-अर्कालाई भेट्ने गर्थ्यौं, तर अहिले हामीले ह्वाट्सएप र फेसबुकबाट मात्रै हालचाल सोध्ने गर्छौं । सामाजिक सञ्जालकै माध्यमबाट जानकारी पाएका छौं कि बंगलादेशमा हिन्दुमाथि अत्याचार भइरहेको छ । यसैकारण हरक्षण चिन्ता भइरहेको छ ।’
भारतको सिमानामा बढ्दो तनावबारे दिलीप दास भन्छन्, ‘अहिले युद्धजस्तो अवस्था सिर्जना भएको छ, भारत र बंगलादेशबीच युद्ध भयो वा त्यहाँ हाम्रा आफन्तजनमाथि जसरी यातना दिइरहेको छ त्यसकै कारण यता पनि अशान्ति (कोलाहल) भयो भने झनै कठिन हुने देखिन्छ । हामी सीमामै बस्छौं । यस्ता हरेक प्रकारका गतिविधिले गाउँलेहरुमा डर, चिन्ता र त्रास उत्पन्न भएको छ ।’
बंगलादेशमा बसेका आफ्ना आफन्तलाई भेट्न गाह्रो भएको नजमुल हुसेनले बताउँछन् ।
यस्तै चिन्ताले सीमानजिकै कलारकान्डी गाउँका बासिन्दा नजमुल हुसेनलाई सताइरहेको छ । वास्तवमा, नजमुलका केही आफन्त बंगलादेशमा सेख हसिनाको पार्टी अवामी लिगका सदस्य थिए ।
उनी भन्छन्, ‘पहिले बंगलादेशमा आफन्तहरूलाई भेट्न धेरै सजिलो थियो तर अहिले धेरै गाह्रो भएको छ । त्यतातर्फ मेरा धेरै आफन्त छन् जो अवामी लिग पार्टीसँग आबद्ध थिए । उनीहरू अहिले धेरै समस्यामा छन् । धेरै मानिसहरू लुकेर बसेका छन् । केही व्यक्ति विदेश पलायन भएका छन् ।
नजमुलका धेरै आफन्तहरूले उनलाई फोनमा अवामी लिगका मानिसहरू डरको वातावरणमा बाँचिरहेको बताएका छन् । बीएनपी र जमात-ए-इस्लामका कार्यकर्ताहरूले अवामी लिगसँग जोडिएका व्यक्तिहरूलाई आक्रमण गरिरहेका छन् ।
त्रिपुराको करिब ३७ लाख जनसंख्यामध्ये तीन लाखभन्दा बढी मुस्लिम छन् । जबकि २२ लाखभन्दा बढी बंगाली मूलका हिन्दु छन् । यीमध्ये अधिकांश मानिसका आफन्त बंगलादेशमा छन् ।
बंगलादेशी किसानहरूसँग कुरा गर्न निषेध
भारत-बंगलादेशबीचको सम्बन्धमा तनावको असर दुवै देशको सीमा क्षेत्रमा पनि देखिएको छ ।
भारत-बंगलादेश सीमामा लगाइएको तारबार भारततर्फ मात्रै छ । जबकि बंगलादेशले आफ्नो छेउमा कुनै किसिमको तारबार लगाएको छैन ।
यो तारबारबाट केही मिटर टाढा सीमा स्तम्भहरू जडान गरिएको छ । यी पिलर र जिरो प्वाइन्टमा तारबार लगाउने बीचमा भारतीय किसानको जमिन छ ।
यद्यपि, धेरै क्षेत्रहरूमा बीएसएफले केही किसानहरूलाई बारको छेउमा जान अनुमति दिइरहेको छ ।
समरुरमुखका बासिन्दा दुलाल भन्छन्, ‘हाम्रो गाउँका केही किसानले बीएसएफलाई परिचयपत्र बुझाएर पर्खालको अर्को छेउको खेतमा काम गर्न जान्छन् । हामीले वर्षौंदेखि यस्तो गर्दै आएका छौं । तर अहिले बीएसएफले कडा निगरानी गरिराखेको छ ।’
दुलाल भन्छन्, ‘हामी साँझ ५ बजे अँध्यारो हुनुअघि नै फर्किनुपर्छ । बंगलादेशका किसानहरू पनि त्यहाँ खेतमा आउँछन्, तर अहिले उनीहरूसँग कुरा गर्न दिइँदैन । पहिले हामी एक-अर्कासँग कुरा गर्थ्यौं । हालचालका बारेमा सोधपुछ गर्थ्यौं ।’
सन् १९७१ मा बंगलादेशले नयाँ राष्ट्र बनेदेखि त्रिपुरासँग सुमधुर सम्बन्ध राखेको छ । यो सानो उत्तर-पूर्वी राज्यले पाकिस्तानी सेनाविरुद्ध नौ महिना लामो बंगलादेशमुक्ति युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
२६ मार्च १९७१ मा स्वतन्त्रता घोषणा नभएसम्म त्रिपुराले सेख मुजिबुर रहमानको नेतृत्वमा रहेको मुक्ति वाहिनीलाई समर्थन गर्यो । त्यो समयमा त्रिपुराले १६ लाख पूर्वी पाकिस्तानी शरणार्थीलाई आश्रय दिएको थियो । जुन यस राज्यको १५ लाख जनसंख्याभन्दा बढी थियो ।
भारत-बंगलादेश फेंसिङ (सीमा) नजिकै समरुरपारका बासिन्दा गुलाब अली पुरानो सम्बन्ध सम्झँदै भन्छन्, ‘म ७० वर्षको भएँ तर यस्तो परिस्थिति कहिल्यै देखेको थिइनँ । मसँग भाइचारा र नाता भएको छिमेकी मुलुकको अहिलेको अवस्था यस्तो छ । यसले हाम्रो मनमा डर उत्पन्न गरेको छ । बीएसएफले पनि हामीलाई अलि सतर्क रहन आग्रह गरेको छ ।’
कैलासहर नाकामा आन्दोलनले व्यापार ठप्प, लाखौंको क्षति
दुई देशबीचको तनावले व्यापारमा पनि असर गरिरहेको छ ।
त्रिपुराको मनु नदीको किनारमा अवस्थित कैलासहर बंगलादेशको लामो सिमानाले घेरिएको छ । यस सहरको सीमानामा दशकौंदेखि आयात-निर्यातको ठुलो व्यापार हुँदै आएको छ ।
यो त्रिपुराको दोस्रो ठुलो व्यापारिक केन्द्र हो जहाँ सयौं मानिसको जीविका जोडिएको छ । तर बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि हमलाको खबर आएपछि स्थानीय संगठनहरूले यहाँ विरोध प्रदर्शन गरेपछि यो सीमा २० दिनका लागि बन्द गरिएको थियो ।
कैलासहर आयात-निर्यात व्यापारी संगठनका अध्यक्ष गौडचन्द अधिकारी भन्छन्, ‘यो नाका बन्द हुँदा सरकारी राजस्व ६० देखि ७० लाख रुपैयाँको घाटा भएको छ । सीमा नाका त्रिपुराको ल्यान्ड भन्सार स्टेसन हो, जहाँ राज्यको दोस्रो सबैभन्दा बढी राजस्व संकलन हुन्छ । यहाँबाट सरकारलाई हरेक महिना डेढदेखि दुई करोड रुपैयाँ राजस्व आउँछ ।’
‘यो सिमानामा करिब एक सय परिवार जीविकोपार्जनका लागि निर्भर छन् । केही दिनअघि बंगलादेशमा चिन्मय कृष्ण दास पक्राउ परेपछि यहाँका स्थानीय संघसंस्थाले विरोध गरेपछि २० दिनसम्म नाका बन्द गरिएको थियो । त्यो बन्दपछि व्यापारीहरु ठुलो घाटामा परेका थिए ।
सीमामा कडा सुरक्षा
भारत र बंगलादेशको सीमामा कडा सुरक्षा व्यवस्था मिलाइएको उनाकोटीका जिल्ला प्रहरी उपरीक्षक (एसपी) कान्त जांगिडले बताइन् ।
भारत-बंगलादेश सिमानामा बसोबास गर्ने जनता बीचको तनवका कारण उनाकोटी जिल्ला प्रहरीको दाबी छ कि- बीएसएफसँगै प्रहरीले सीमामा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।
उनाकोटी जिल्लाका प्रहरी उपरीक्षक (एसपी) कान्ता जांगिडले बीबीसीलाई भनिन्, ‘हाम्रो जिल्लाको बंगलादेशसँग ७३ किलोमिटर सीमाना छ । जसको २० वटा बीएसएफ चौकीले निगरानी गर्छन् ।’
कान्ताले भनिन्, ‘बंगलादेश विवाद भएदेखि वा त्यसअघिदेखि नै हामीले सीमा क्षेत्रमा बीएसएफसँग मिलेर संयुक्त गस्ती, रात्रि गस्ती र फ्ल्याग मार्च गर्दै आएका छौं, अहिलेको अवस्थालाई ध्यानमा राख्दै गस्ती बढाइएको छ ।
सिमानामा बसोबास गर्ने गाउँलेको मनमा पैदा भएको डरका सम्बन्धमा एसपी कान्ता भन्छिन्, ‘गाउँलाई सचेत गराउन हामीले धेरै कार्यक्रमहरु पनि गरिरहेका छौं, जनताको आत्मविश्वास बढाउन धेरै प्रयास भइरहेको छ । यसका साथै सामाजिक सञ्जालमा पनि सूक्ष्म निगरानी गरिरहेका छौं । यदि यहाँ कसैले साम्प्रदायिक पोस्ट गरेमा त्यसलाई तुरुन्तै डिलिट गराउँछौं र सम्बन्धित व्यक्तिलाई कारबाही गर्छौं ।’
यी सबै सुरक्षा व्यवस्थाका बीच दिलीप बंगलादेशमा रहेका आफ्ना आफन्तलाई लिएर चिन्तित छन् भने नजमुलले पनि अवस्था सामान्य हुने आशा छोडेको देखिन्छ । -बीबीसी