काठमाडौं, पुस २८ :

फ्लोरिकल्चर एसोसिएसन नेपालको विशेष चुनावी साधारणसभाले राजेशभक्त श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यसअघि भएको निर्वाचनमा विवाद आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुन: निर्वाचन गर्न दिएको समयमै तदर्थ समितिले निर्वाचन गराएको हो ।

यसअघि अध्यक्ष्मा निर्वाचित भएका दिलीप बादेलाई तीन मतले पराजित गर्दै राजेशभक्त श्रेष्ठ अध्यक्ष बनेका हुन् ।  वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा सुमन महर्जनले रामेश्वर बासीलाई, महासचिवमा हीरामणि शर्माले भोजराज तिमल्सिना, सचिवमा राजु तामाङले रामचन्द्र खड्कालाई पराजित गरेका थिए । कोषाध्यक्षमा राजकृष्ण बजगाईं निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सीताराम लामिछाने, मन्दिर श्रेष्ठ र इन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । फ्यानको नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।