काठमाडाैं, पुस २९ :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन विवरण नभरेकै आधारमा आफ्नो नियुक्तिपत्र रद्द नहुने दाबी गरेका छन् ।

मन्त्रिपरिषद्‌बाट नियुक्त व्यक्तिलाई अन्य निकायले हटाउने अधिकार नहुने उनले बताए ।घिसिङले आफ्नो कार्यअवधि ४ वर्षको भएको समेत स्मरण गराएका छन् । 

मन्त्रालयले गत पुस २२ मा सोधेको स्पष्टीकरणको आज आइतबार जवाफ दिँदै घिसिङले आफ्नो नियुक्ति रद्द कानुनसम्मत नहुने स्पष्टीकरण मार्फत जवाफ दिएका हुन् । स्पष्टीकरणको सट्टा उनले लक्ष्यअनुरुप ९८.९९ प्रतिशत अंक प्राप्त हुने गरी नतिजा हासिल गरेको दाबी सहितको जवाफ पठाएका थिए ।

यस्तो प्रगति हासिल भएको अवस्थामा नियुक्तिपत्र रद्द गर्ने भन्ने विषय आफैंमा विधिसम्मत नहुने उनको भनाई छ ।'तपाईंको नियुक्तिपत्र रद्द किन नगर्ने ? भनी मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।