
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन् ।
माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज शुभकामना सन्देश दिदैँ मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् । सन्देशमा उनले कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिन्छ भनेका छन् ।
लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले आ- आफ्नै तरिकाले माघे सङ्क्रान्ति / माघ पर्व मनाउने चलन छ ।
यस पर्वको फरक विशेषता र महत्व छ । थारू समुदायले माघलाई महत्त्वपूर्ण चाड एवं नयाँ वर्षका रूपमा मनाउने गर्छन् भने मगर, यादवलगायत समुदायले विशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।
माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गङ्गाधर पाण्डेले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।