
आजदेखि धनगढीमा सुरु भएको प्रधानमन्त्री कप टी- २० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा ५५ रन बनायो ।
जितका लागि पाएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । बलिङतर्फ गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक एक विकेट लिइन् ।
यसअघि ५५ रन बनाउने क्रममा गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी रेवती धामीले ४ तथा ऋतु कनौजिया र जानकी थापाले एक एक विकेट लिइन् । रेवती ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।
प्रतियोगिताको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य प्रकाश देउवाले उद्घाटन गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार क्यानको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय टोली एपीएफ क्लब र आर्मी क्लब सहभागी छन् ।