
नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी उत्पादित सामग्रीहरुको प्रचार-प्रसारको सही माध्यम बनेको सहभागी व्यवसायीहरुले बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डमा शुक्रबारबाट सुरु भएको मेलामा आफ्नो कम्पनीहरुको स्टल राखेका व्यवसायीहरु मेला उपभोक्तामाझ पुग्ने सही माध्यम भएको बताउँछन् । उनीहरुले यस्ता मेलाहरुले नेपालमा मात्रै नभई विदेशमा पनि आफ्ना उत्पादनहरुको बजारीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मेलामा सहभागी अल्ट्रा इन्टिरियोका सञ्चालक श्री खनालले मेलामा सहभागी हुँदा आफ्ना उत्पादनहरु उपभोक्तामाझ बुझाउने र पुर्याउन सहज बनेको बताए । उनले नयाँ उत्पादनबारे जानकारी दिने, आफ्ना सामग्रीको प्रचार-प्रसार गर्ने माध्यम मेला बनेको बताए ।
‘यो मेलामा सहभागी हुनुको कारण भनेको हाम्रा उत्पादनहरु प्रमोसन गर्नु हो । कुनै पनि एग्जिबेसनको उद्देश्य त्यही नै हो । नयाँनयाँ प्रोडक्टहरु के लञ्च भइरहेका छन्, नयाँनयाँ के आइरहेका छन् भनेर इन्फरमेसन दिने उद्देश्यले इभेन्ट अर्गनाइज भएको हो,’ उनले भने, ‘अवलोकनकर्ता कम भए पनि यही क्षेत्रमा जानकारी लिने किसिमको हुनुहुन्छ । त्यसैले महत्त्वपूर्ण छ ।’
मेलामा सहभागी मयूर प्लाइका सहायक महाप्रबन्धक नवराज केसीले नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी प्रचार गर्ने सही माध्यम भएको बताए । उनले आफ्ना उत्पादनलाई बजारीकरण गर्न यस्ता एक्स्पोहरुको भूमिका महत्त्वपूर्ण हुने जनाए ।
उपभोक्ताहरुसँग प्रत्यक्ष भेट हुने र उपभोक्ताले रुचाएअनुसारका उत्पादनहरु आगामी दिनमा बनाउन मेलाले मद्दत पुग्ने उनको विश्वास छ । उनले भने, ‘यो एउटा प्रचारप्रसारको माध्यम हो । यसमा सिधा उपभोक्ताहरुसँग भेट हुन्छ । यसबाट हामीले बजारमा आफ्नो उपस्थितिलाई बढाउन मद्दत पुग्छ । यहाँ आउने अवलोकनकर्ताहरुले प्लाइवुड र ढोकाहरुमा बढी जोड दिइरहनुभएको छ । यसले हामीलाई नेपालमा मात्रै नभई विदेशमा आफ्नो बजारीकरणका लागि पनि मद्दत पुग्छ ।’
मिराज काठ उद्योगका व्यवस्थापक ईश्वर पोखरेलले मेलाले उपभोक्ताहरुसँग प्रत्यक्ष जोडिन मद्दत पुगेको दाबी गरे । उनले आफ्ना सामग्री विदेशमा पनि विस्तार र व्यापार गर्न मेला महत्त्वपूर्ण रहेको बताए । ‘हाम्रो कम्पनीमा ढोकाहरुमा गुणस्तरीय उत्पादन गर्नेभित्र पर्छ नेपालको हकमा । त्यसैले यसमा बजारीकरण पनि हुन्छ । उपभोक्ताहरुसँग सिधा जोडिन सकिन्छ । यस्ता मेलाहरुले हाम्रो सामान देशमा मात्र नभई विदेशमा पनि विस्तार गर्न मद्दत पुग्छ,’ उनले भने ।
त्यस्तै ऋद्धिसिद्धि ल्याबिनेट्स प्रालिका सहसंस्थापक रवि नेमानीले मेलाले आफ्ना सामग्रीहरुको बजार विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । भारतका सामग्रीहरु नेपाली बजारमा ल्याउन र आमनागरिकलाई बुझाउन मेला महत्त्वपूर्ण रहेको बताए । मेलाले आफ्ना उत्पादनको प्रचार-प्रसारमा मद्दत पुग्ने उनको भनाइ छ । ‘हामी आफ्ना उत्पादनहरु नेपाली बजारमा विस्तार गर्न मेलामा आएका छौँ । यस्ता एक्स्पोहरुले नेपालमा आफ्ना उत्पादन विस्तार गर्न मद्दत पुग्छ,’ उनले भने, ‘आफ्ना उत्पादनहरुको प्रचार-प्रसार गर्न मद्दत पुग्छ । मेला अवलोकन गर्न आउनेहरुबाट हामी सन्तुष्ट छौं ।’
यता, ज्यागवार प्लाइका निर्देशक रोहित नेमानीले आफ्ना उत्पादित सामग्रीलाई उपभोक्ताहरुमाझ पुर्याउन मेला महत्त्वपूर्ण रहेको बताए । उनले यस्ता मेलाले आफ्ना उत्पादनबारे जानकारी नहुनेलाई जानकारी दिन फाइदा पुग्ने धारणा राखे । ‘हाम्रो बारेमा उपभोक्ताहरुलाई पनि जानकारी हुनुपर्छ भनेर जानकारी दिन र आफ्नो उत्पादनहरुको बजार विस्तार गर्न एक्स्पोमा आएका छौं । थाहा नहुनेलाई जानकारी दिनुपर्छ भनेर हो,’ उनले भने ।
त्यस्तै, ट्राइनोक्स नेपालका निर्देशक सुजित माधोगरियाले आफ्ना उत्पादनहरुको बजारीकरण गर्न र उपभोक्ताहरुसँग भिज्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले उपभोक्ताले चाहेको मागअनुसारको उत्पादन गर्न मेलाले सन्देश दिने बताए । आफ्ना उत्पादनको सुधार गर्न पनि मेला महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
‘हामी जति पनि नयाँ उत्पादनहरु ल्याउँछौँ, हरेक उपभोक्ताहरुसँग भिज्न जरुरी हुन्छ । हाम्रो बजारसम्म सामानहरु पुगे पनि उपभोक्ताले कस्तो चाहेको छ ? कस्तो लागेको छ त्यो जान्नका लागि र हामीले आफ्ना उत्पादनको सुधार गर्नका लागि यस्ता एक्स्पोहरुको आवश्यक पर्छ,’ उनले भने ।
उनले धेरै अवलोकनकर्ताहरु आउनेभन्दा पनि आवश्यक भएका र बुझ्न चाहेका अवलोकनकर्ताहरु आएर बुझिदिँदा नै आफूहरु सन्तुष्ट हुने धारणा राखे ।