काठमाडौं, माघ ९ :

नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कैफियतका आधरमा तीनवटा वाणिज्य बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई आर्थिक वर्ष ०८१/८२ को दोस्रो त्रैमासमा कारबाही गरिएको हो ।

कारबाहीमा पर्ने वाणिज्य बैंकमा प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।

कुनलाई कस्तो कारबाही ?
१. प्रभु बैंक लिमिटेड
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहायबमोजिमका विभिन्न दफाको पालना नगरिएको हुनाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराइएको ।
(क) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ख) को व्यवस्थाबमोजिम वार्षिक साधारणसभा हुनुभन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारणसभा नभएसम्मका लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने भए पनि बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारणसभा सम्मका लागि नियुक्त गरी सोही वार्षिक साधारणसभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता दिएको ।
(ख) बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफूअनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति (एक्विजिसन) भएको मितिबाट गणना गरिएको हुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) को पालना नभएको देखिएको ।
साथै, निजलाई सञ्चालक पदबाट हटाउन उक्त बैंकको सञ्चालक समितिलाई निर्देशन दिइएको ।
(ग) स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको ।
यस बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. २/०८० को बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा यस बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्ट २०१५ को व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको तथा केही कर्जाहरूमा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकाले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको ।

२. हिमालयन बैंक लिमिटेड
यस बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरुको पालना नगरेकाले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराइएको ।

३. एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एसिया बैंक लिमिटेडका सञ्चालक, निजहरुका परिवारका सदस्य एवं सम्बद्ध  संस्थाहरुलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवं सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकामा यस बैंकको निर्देशनबमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराइएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाईलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधनसहित) को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको ।

नेपाल राष्ट्र बैंकबाट एनआईसी एसिया बैंक लिको स्थलगत निरीक्षणका क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना गरेको नपाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ग) अनुरुप एनआईसी एसिया बैंक लिमिटेडलाई देहायबमोजिमको लिखित आदेश जारी गरिएको छ ।

(क) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्न तथा नगराउन र यस बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न/गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्न ।
(ख) ब्याजदरसम्बन्धी यस बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन यस बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न ।
(ग) कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था यस बैंकको निर्देशनअनुरुप हुने गरी गर्न तथा नेपाल राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न/गराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिइएको छ ।

यो पनि…

१४ विकास बैंकको वित्तीय विवरण : तीन वटाले घाटा बेहोर्दा ११ वटाले नाफा कमाए