दाङ, माघ १२ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् ।

माओवादी केन्द्रको तुलसीपुर नगर कमिटीले तुलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभामा दाहालले भने, ‘योपटक देशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौं । तपाईंहरुले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटि ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं ।’

उनले समृद्धिको लडाइँमा साथ चाहियो भन्दै ८४ को निर्वाचनमा साथ दिन सबैसँग आग्रह गरे । ‘त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ । सामाजिक विभेदको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्नेछ । तपाईंहरुले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो,’ दाहालले थपे, ‘अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् । अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा तपार्इंहरुको साथ चाहियो ।’

उनले तेस्रोपटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमी-कमजोरी सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मरण गरे । अध्यक्ष दाहालले सोही कारण जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको दाबी पनि गरे । यही सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशबाट पुष्टि भएको दाबी पनि उनको थियो ।

‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु,’ उनले भने, ‘जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ । देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।’

देश दौडाहामा माओवादी अध्यक्ष दाहाल, भेटे सहिद परिवार

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उनले बताए । अध्यक्ष दाहालले भने,‘दुई ठुला कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो । त्यति नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भीम रावल, विन्दा पाण्डे, उषाकिरणलगायतलाई कारबाहीको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रीय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।’

माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्युनिस्टहरुलाई एकताबद्ध गर्दै लैजाने उनले दाबी थियो । विप्लवलगायत पूर्वमाओवादी धारहरुसँग पार्टी एकताका लागि भइरहेका छलफलतर्फ संकेत गर्दै अध्यक्ष दाहालले उक्त अभियानलाई चाँडै पूर्णता दिनेसमेत जानकारी दिए । ‘माओवादी पार्टीहरुलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिटै पूर्णता दिनेछौं,’ दाहालले भने ।

आफूले रोस्ट्रमबाट यो सरकार सुशासनको डरले बनेको भनेर भनेको स्मरण गर्दै सरकार लोकतन्त्रको भावनाविपरीत अपादर्शी ढंगले बनेको दाबी गरे । ‘मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । तिनै बिचौलियको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो । जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो । मैले सरकारमा रहेर आफ्नो अर्काको नभनी कारबाहीको प्रक्रिया अघि बढाएँ,’ उनले भने, ‘अनुसन्धान खटिएका अफिसरहरुलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिए पनि कारबाही अगाडि बढाउनू भने । म चुनौतीका साथ भन्न चाहन्छु । अहिले सरकारको नेतृत्व गर्नेले मैले झैं आफैंलाई अनुसन्धान गरेर देखाउनू ।