
पुरातत्त्व विभागले बर्दिबास ३, पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे/नरहेको अन्वेषण सुरु गरेको छ ।
यसका लागि विभागका पुरातत्त्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञ टोली शनिबार बर्दिबास पुगेको छ ।
‘हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ”, पुरातत्त्वविद् ज्ञवालीले भने, “यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक महत्वको स्थल हो ।”
अहिलेको बिपी राजमार्ग (बर्दिबास- बनेपा राजमार्ग) को बर्दिबास- ३ पाटुमा यो ठाउँ दुई दशकअघि जर्मन अन्वेषक गुडन कार्विन्सले पत्ता लगाएका थिए । उनकै अध्ययन तथा खोज अन्वेषणको प्रतिवेदनका आधारमा अबको खोजीकार्य अघि बढ्ने विज्ञ टोलीले जनाएको छ ।
अहिलेको बर्दिबासचोकबाट चार किलोमिटर उत्तर राजमार्गबाट पश्चिमपट्टि यो कारखानाले निकै ठाउँ ओगटेको प्रारम्भिक अध्ययनले देखाएको छ । कारखानास्थलमा निकै पुराना गारोका अवशेष जस्ता ठाउँ भेटिएको जनाइएको छ ।
पछिल्लो समयमा करिब सात दशकअघि यो ठाउँ नजिक वन फडानी गरी बसोबास थालिएको हो । विज्ञ टोलीले यसअघि सात हजार वर्ष पहिलेसम्म यहाँ आसपास मानव बस्ती रहेको अवशेष पाइएको जनाएको छ ।
पाषाण युगकालीन हतियार कारखानास्थल आसपासमा अहिले पाटु, भब्सी, रातमाटा र राइमण्डलसहितका बस्ती छन् । कतिपय घरबस्ती र संरचनाले यो पुरातात्विक महत्वको ठाउँ चर्चेको प्रारम्भिक अध्ययनले देखाएको विज्ञ ज्ञवाली बताए।