
काठमाडौँ, माघ १७ :
नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट सन्यासको घोषणा गरेकी छिन् ।
करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसकेकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् ।
आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उनले एक गोल गरिन् । उनको टिम एपिएफले नेपाल पुलिस क्लबलाई ४- ० ले पराजित गर्दै उपाधि जित्यो ।
एपिएफका खेलाडीले उनलाई गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरेको छ । अनुले सन् २०१० मा बङ्गलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु- २३ टोलीमा डेब्यू गरेकी थिइन्।