
रौतहट, माघ २१ :
आम जनता पार्टीका अध्यक्ष एवं रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले आइतबार सांसद साह लगायतका विपक्षीका नाममा कारण देखाउ आदेश गरेको हो ।
निवेदन मागबमोजिम तपाईंलाई किन सजाय हुन नपर्ने हो भनी विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
सांसद साहले सामाजिक संजाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस लेखेका थिए ।
फेसबुकमा न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस पोष्ट गरेपछि अदालतप्रति अपमान भएको भन्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए ।