
बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन् ।
सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलगायत विषयमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा टुङ्गो लगाउने तथा प्रदेशसभामा सरकारलाई विधेयकहरू पेस गर्न दिने सहमति कायम भएको हो ।
प्रदेशसभाको बैठक भोलि बुधबार ११ बजे आह्वान गरिएको छ ।
“प्रदेशसभाको आगामी बैठकलाई प्रभावकारी बनाउन सर्वदलीय बैठक आह्वान गर्यौँ”, सभामुख पाठकले भने, “आजको बैठकमा असमझदारी देखिएका विषयमा दलीय समझदारी कायम गरी अघि बढ्ने र प्रदेशसभामा सरकारलाई सहज रूपमा विधेयकहरू प्रस्तुत गर्न दिने सहमति कायम भएको छ । अब नियमित र प्रभावकारी रूपमा प्रदेशसभाको बैठक सञ्चालन हुन्छ”, सभामुख पाठकले भने।
माघ १८ गतेदेखि सुरू भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै सरकारले तीन वटा विधेयक पेस गर्ने भनिए पनि प्रतिपक्ष दल सहमत नहुँदा प्रदेशसभा बैठकबाट विभिन्न विधेयकसम्बन्धी कार्यसूची हटाइएको थियो ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले अघि सारेको नीति कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् भने प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् ।
यी विषयमा दलहरूबीच सहमति कायम नहुँदा प्रदेशसभामा सरकारले विधेयकहरू प्रस्तुत गर्न सकेको छैन ।
प्रदेशसभाको चालु हिउँदे अधिवेशनमा सरकारका तर्फबाट प्रदेशसभा सचिवालयमा प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेको छ ।