काठमाडौं, माघ २६ :

नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि धरपकड गरिरहेको उल्लेख गर्दै व्यवसायीको जिउधनको सुरक्षाको माग गरेकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले कबाड व्यवसायीलाई काठमाडौं महानगरपालिकाले भौतिक संरचनाको तोडफोड र व्यवसायीलाई धरपकड गरिरहेको उल्लेख गरिन् । देशमा सञ्चालित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ आपूर्ति र देशको व्यापार घाटा कम गर्न कबाड व्यवसायको महत्त्वपूर्ण भूमिका खेले पनि महानगरले अराजक शैलीमा अपहरण गरिरहेको उनको आरोप छ ।

उनले व्यवसायीहरुलाई कुटपिट, गाली-गलौजजस्ता अभद्र व्यवहार भइरहेको उल्लेख गर्दै कबाड व्यवसायीमाथि भइरहेको अराजगत गतिविधि रोक्नुपर्ने माग गरिन् ।

‘कबाडी व्यवसायीहरुले वातावरणीय सरसफाइमा समेत योगदान गर्दै आएका छन् । तथापि विगत एक वर्षदेखि काठमाडौं महानगरले कबाड व्यवसायीहरुलाई व्यापक धरपकड र तोडफोड गरिएको स्थिति छ । सामान जफत गरेको अवस्था छ । त्यसैगरी व्यवसायीहरुलाई कुटपिट गाली-गलौजजस्ता अभद्र व्यवहारसमेत गर्दै आएको देखिन्छ,’ उनले भनिन्, ‘दर्ता भई आफ्नो काम गर्दै आइरहेका कबाड व्यवसायीमाथि भइरेको यस्ता अराजगत गतिविधिमा रोक लगाई कबाड व्यवसायिहरुको जिउधनको सुरक्षाको माग गर्दछु ।’

कबाड व्यवसायीहरुले वातावरणीय सरसफाइमा समेत योगदान गर्दै आएको उनको भनाइ छ ।