सुन्दरहरैँचा, माघ २७ :

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित चौथो बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक टोली बिराट भेट्रान ए र बी आमने सामने हुने भएका छन् ।

शुक्रबार नगरको  सुकुना खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा बिराट भेट्रान (ए) ले दुधे भेट्रान, झापालाई १- ० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलमा बिराट भेट्रान (बी)ले पूर्वाञ्चल भेट्रान, झापालाई २- १ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

बिराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख, एक हजार, एक सय ११ रुपैयाँ हात पार्नेछन् । उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।.

गोल्डकपमा स्वदेशका ८ तथा विदेशका २ गरी भेट्रान टिमको सहभागिता रहेको छ ।