खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयको आगलागीको कारण विद्युत सर्ट भएको बताए। मन्त्रालयको चौथो तलामा शनिबार बिहान आगलागी भएको थियो।
आगोलागीबाट केही कागजात जले पनि महत्त्वपूर्ण कागजात केही नभएको उनको भनाइ छ। मन्त्रीको कार्यकक्ष भएको तीनवटा कोठामा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीले क्षतिको विवरण आउन भने केही समय लाग्ने बताएको छ। आगो दमकलको सहायताले निभाइएको थियो।
मन्त्री यादवले हिजोदेखि नै आगलागीको गन्ध आइरहेको बताए । उनले भने, शुक्रबारदेखि नै केही जलेको जस्तो गन्ध आएको थियो। त्यसलाई हेरौँ है भनेर म पनि गएँ, आज बिहान त आगलागी भइहालेछ।'
आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।
र यो पनि…