चितवन, माघ २९ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने स्पष्ट पारेका छन् ।

चितवनमा सोमबार पत्रकारसँग कुराकानी गर्दै थापाले यो विधेयकमा धेरै समस्या रहेको बताउँदै विधेयक नसच्याइ, परिमार्जन नभइ र संशोधनविना पारित नहुने बताए ।

महामन्त्री थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने समेत बताए । कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।

‘हामीले तोकिएको समयमा महाधिवेशन गर्न आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ,’ उनले भने, ‘तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुपर्‍यो ।’

विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई-तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए ।

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो । उनले सरकारले ल्याएको अध्यादेश एक-दुई दिनमा संसद्‌मा टेबल हुने बताए । टेबल भएपछि संसद्‌बाट छलफलसहित पास हुने उनको भनाइ थियो ।