
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका ११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ५४ वर्षीय लीलबहादुर राई र काठमाडौं महानगरपलिका २३, वसन्तपुर बस्ने ३७ वर्षीय विशाल श्रेष्ठ छन् ।
पक्राउ परेकामध्ये लीलबहादुरले मलेसिया पठाइदिछु भन्दै दुईजना पीडितबाट २ लाख रुपैयाँ र विशालले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट एक लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लीलबहादुरलाई काठमाडौं बत्तीसपुतली र विशाललाई टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।