काठमाडौं, फागुन १ :

प्रहरीले देशका विभिन्न क्षेत्रबाट ३४ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका १०, बोशीगाउँमा वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्रसमेत ११ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रुपैयाँ, कौडा १८ थान र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका ४, राजिपुर बस्ने अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका ३, बस्ने ५७ वर्षीय गोपाल घिमिरेसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका ९ बस्ने ३२ वर्षीय नीराजन राजवंशीको होमस्टेमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका ८ बस्ने ५४ वर्षीय वसन्तकुमार शर्मासमेत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलाय मोतिपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ५ सय २६ रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।