
सक्रिय न्युजको ‘सक्रिय हाइलाइट्स’मा आज स्वास्थ्य मन्त्रालयले आजदेखि सुरु गरेको नसर्ने रोगहरुविरुद्ध निरोधात्मक नि:शुल्क ‘स्क्रिनिङ’अभियान, काठमाडौंको बबरमहलमा हिजो मेलम्ची खानेपानी आयोजनाको फुटेको पाइप मर्मत गरिएको लगायतका समाचारहरु समावेश गरेका छौं ।
यसैगरी स्वर्गद्वारी गुठीपीडित र सरकारीबीचको वार्ता विनानिष्कर्ष टुंगिएको र हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयकप्रति नेपाल पत्रकार महासंघले असन्तुष्टि जनाएको समाचारहरु समावेश गरेका छौं । साथै आजको सक्रिय हाइलाइट्समा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सात दशमलव २६ अंकले घटेको तथा एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको समाचारहरु समावेश गरेका छौं ।
प्रस्तुत छ- सक्रिय न्युजको आजको हाइलाइट्स :
‘स्क्रिनिङ’अभियान आरम्भ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नसर्ने रोगहरुविरुद्ध निरोधात्मक नि:शुल्क ‘स्क्रिनिङ’अभियान सञ्चालन गरेको छ । ‘स्क्रिनिङ’अभियान सफल बनाउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सम्बद्ध सबैमा आग्रह गरेका छन् ।
बिहीबार एक सन्देश जारी गर्दै देशमा हुने मृत्युको लगभग तीनचौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथा त्यसमा जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् । मन्त्री पौडेलले निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने सरकारको प्रयत्न रहेको बताएका छन् ।
बन्यो मेलम्चीको पाइप
नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार भूमिगत गर्न ‘होरिजन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ । काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप करिब २० घण्टापछि मर्मत पूरा भएको हो । पाइप फुटेपछि त्यस क्षेत्र जलमग्न भएको थियो । विशेष अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।
सरकारले सुनेन
स्वर्गद्वारी गुठीपीडित र सरकारीबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । आन्दोलनरत पक्षका वार्ता टोलीका संयोजक प्रविन दहित थारूले बिहीबार भएको वार्तामा सरकार समस्या समाधानका लागि गम्भीर नबनेको आरोप लगाए । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका सहसचिवसमेत रहेका थारूले भोलिदेखि नै आन्दोलनलाई सशक्त रुपमा अघि बढाउने चेतावनी दिए । स्वर्गद्वारी गुठीपीडित एक सातादेखि काठमाडौँमा रहेर आन्दोलन गर्दै आएका छन् ।
यसैबीच नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएको छ । धुलिखेलमा बसेको महासंघको नयाँ कार्यसमितिको पहिलो बैठकले विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
राताम्मे नेप्से
साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से सात दशमलव २६ अंकले घटेको छ । योसँगै नेप्से २६ सय ७८ दशमलव ४७ अंकमा रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ८८ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय दुई कम्पनीको ७८ हजार आठ सय ३५ पटकको कारोबारमा एक करोड ५८ लाख ७५ हजार एक सय ५२ कित्ता सेयर किनबेच भए । जसमा कुल कारोबार रकम सात अर्ब ९२ करोड १३ लाख नौ सय ८२ रुपैयाँ पुगेको छ । १३ समूहको सेयर कारोबार भएकामा तीनवटा समूहको सूचक बढेर बाँकीको घटे ।
एन्जिलाको कप्तानी
काठमाडौंमा हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । प्रतियोगिताका लागि बिहीबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरिएको हो । टोलीमा दुई नयाँ खेलाडी छन् । टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाइ छन् ।
यस्तै मिडिफिल्डरमा अनीता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनीता केसी छन् । फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ ।