
काठमाडौँ, फागुन ३ :
भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ ।
हरेक वर्ष १४ फेब्रुअरीलाई प्रणय दिवसका रूपमा मनाउने गरिन्छ । पश्चिमा देशमा प्रचलित रहेको प्रणय दिवस पछिल्ला केही दशकदेखि नेपालमा पनि मनाउन थालिएको छ ।
इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको मानिन्छ ।
भ्यालेन्टाइन्स डेका दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने प्रचलन छ । प्रेम अभिव्यक्त गर्न गुलाबको फूल प्रयोग हुने भएकाले आजको दिन फूलको कारोबार समेत बढ्ने गरेको छ ।