
चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।
प्रणय दिवसका अवसर पारेर चलचित्रका दुईवटा पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ । राजागंज निर्माण पक्षका अनुसार यो पहिलो नेपाली चलचित्र हो, जसमा मधेसको कथा, व्यथा र आन्दोलनलाई प्रमुख विषयवस्तु बनाइएको छ ।
चलचित्रमा मधेसकै पात्रहरुको बाहूल्यता देखिन्छन् । प्रमुख पात्रहरूकै रूपमा इन्द्रकुमार मधेसानन्द, सरोज मास (सरोज मिश्र), पत्रकार घनश्याम मिश्र र आरती मण्डलले चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्रका प्रमुख पात्रका रुपमा चर्चित अभिनेता दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पूर्वमिस नेपाल निकिता चण्डक, पशुपति राई तथा जनकपुरका ख्यातिप्राप्त रङ्गकर्मी मदन ठाकुर र परमेश्वर झाले समेत अभिनय गरेका छन् ।
निर्देशक रौनियारले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । निर्देशक रौनियारले यो चलचित्र मधेसको मात्र कथा नभएर सम्पूर्ण नेपाली समाजको ऐना भएको बताए ।
नेपालमा सार्वजनिक प्रदर्शन हुनुअघि ‘पूजा सर’ नामबाट राजागंजले महिला सशक्तीकरणको सन्देशसहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाइसकेको छ ।