
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रक्षाबन्धनले पारस्परिक सहयोगी भावनालाई उत्प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको हो।
यो पर्व भूगोल, क्षेत्र र समुदायगत रुपमा फरक- फरक नामले मनाइए पनि यसको उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोग भाव उत्प्रेरित गर्नु भएको उपराष्ट्रपतिको सन्देशमा भनिएको छ ।
उहाँले तराई- मधेसमा मधेसीलगायतका समुदायले रक्षाबन्धनलाई राखी त्योहारका रुपमा मनाउने गरेको उल्लेख गर्नुभयो । साथै मधेसी संस्कृतिमा भाइ-बहिनीको अमर प्रेमको प्रतीकका रुपमा मनाइने पर्वहरुमा राखी, भैयादूज (भ्रातृद्वितीया)लगायत रहेको उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
लोकपर्वकै रुपमा स्थापित राखी पर्वमा दिदीबहिनीले दाजुभाइलाई नाडींमा रक्षासूत्र (रिखीडोरो)वा राखी बाँध्ने र त्यसो गर्नुको मूल उद्देश्य- भाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना गर्नु तथा दिदीबहिनीको रक्षा गर्नु रहेको उहाँको भनाइ छ ।
“वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरु अर्थात् जनै लगाउनुपर्नेहरुले श्रावण पूर्णिमामा पुरानो जनै (यज्ञोपवीत) फेर्ने गर्छन् । यो पर्वमा गुरु-पुरोहितहरुले मन्त्र साधना गरी भयबाट रक्षा हुने धागो बाँधिदिने चलन छ ।