ताप्लेजुङ, फागुन ११ :

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ । 

गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । 

त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाक्लो हिमपात भएको महतले बताए । यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको र यस वर्षकै बाक्लो हिमपात भएको उनले बताए ।

पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् । 

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ ।