सुन्दरहरैँचा, फागुन १३ :

वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोसी एक्सिलेन्स अवार्ड २०८१’ प्रदान गरिएको छ ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका हुन् । साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुननसकेपछि शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सम्मान ग्रहण गरेका थिए ।

साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको हो । 

मानसिक रूपमा सक्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार झमकको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी उनको बाल्यकाल कष्टकर बितेको थियो । उनलाई साहित्यले नै सफलताको बाटो कोर्यो

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरिन् । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छेभित्रका योद्धा- २०५७ र नौलो प्रतिबिम्ब- २०६५ कविता सङ्ग्रह प्रकाशित  छन् ।

उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्गह, (अवसान पछिको आगमन- २०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटा- २०५७), एउटा कथा सङ्गह (पर्दा, समय र मान्छे- २०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्था- २०६३) प्रकाशित छन् ।