
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सबै नेपालीको अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने सुझाएकी छन् ।
प्रतिनिधिसभा बैठकमा सोमबार उनले स्वास्थ्य बिमाको सीमालाई पाँच लाखको पुर्याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्ने स्वास्थ्यमन्त्रीबाटै अब भुक्तानी पुगेन स्वास्थ्य बिमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको भनेकी छन् ।
उनले अनिवार्य स्वास्थ्य बिमा गर्न र त्यसको सुरुवात स्वास्थ्यमन्त्रीबाटै गर्न आग्रहसमेत गरिन् । ‘यदि सल्लाहकार छैनन्, उपयुक्त सल्लाह लिन सकिँदैन, यसमा अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौँ,’ उनले भनिन् ।
उनले स्वास्थ्य बिमाको प्रभावकारिताबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
चल्ने बेलामा हामीले यस्तो कार्यक्रम ल्यायौं भनेर जस लिने तर समस्या पर्न थालेपछि अलपत्र छाडिदिने प्रवृत्ति उचित नहुने धारणा राखिन् । सांसद कार्कीले भनिन्, ‘चल्ने बेलामा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर वषौंसम्म जम्मा २६ देखि २८ प्रतिशतसम्म पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धरासायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन ।’
उनले अनिवार्य स्वास्थ्य बिमा सबैका लागि सुरु गर्नुपर्ने आग्रह गरिन् । यसको सुरुवात मन्त्री, मन्त्रीको सचिवालय र परिवारबाट गर्नुपर्ने उनले आग्रह पनि गरिन् । ‘अनिवार्य स्वास्थ्य बिमा सबैका लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरौं सुरुवातमन्त्रीज्यूबाटै गरौं मन्त्रीज्यूको सचिवालयमा, मन्त्रीज्यूको परिवारमा र मन्त्रालयमा सम्पूर्णमा स्वास्थ्य बिमा अनिवार्य गरिदिनु होला र देशभरीका जनसंख्याले स्वास्थ्य बिमा लिने हो भने बर्सेनि २० अर्ब रकम उठ्छ ।’