
म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर- बरङ्जा- महेश- धापुङ- ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ ।
वि. सं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो ।
पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मङ्गला गाउँपालिका- ३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरु भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताए ।
गत मङ्सिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ । विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेको उनले बताए ।
पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिरहेको छ ।