काठमाडौं, फागुन १४ :

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ । 

धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । प्रहरीका अनुसार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको हो ।

थापाले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनास्थलबाट सेल्फस नामको औषधीको बट्टा समेत भेटिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक थापाले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।  

पोस्ट मार्टमका लागि थापाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । पोस्टमार्टम रिपोर्ट आउन भने बाँकी रहेको छ । उनको साथबाट तीन पेज लामो सुसाइड नोट फेला परेको एक अनुसन्धान अधिकृतले बताए ।

 त्यसमा पारिवारिक र सहकारी लगायतका कुराहरू उल्लेख गरिएको बुझिएको छ । आफ्नो बेइज्जत हुने अवस्था देखिएपछि उनी आत्महत्याको निर्णयमा पुगेको देखिन्छ, ती अनुसन्धान अधिकृतले भने ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।