काभ्रेपलाञ्चोक, फागुन १६ :

इलाका प्रहरी कार्यालय मङ्गलटारमा ‘नागरिक- प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ ।

नेपाल प्रहरीको प्रवर्द्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको कार्यालयले जनाएको छ । 

विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा प्रहरी कार्यालयमा स्थापित उक्त पुस्तकालयमा कानुनको १९ खण्डका पुस्तक, नेपाली र अङ्ग्रेजी दुवै भाषाका साहित्यिक पुस्तक, धार्मिक पुस्तक, सरकारी सेवा प्रवेश पूर्वतयारी सम्बन्धी पुस्तक, नेपाल प्रहरीद्वारा प्रकाशित विभिन्न पुस्तक राखिएको छ ।

विभिन्न कारणले शान्ति सुरक्षाको प्रयोजनार्थ नियन्त्रणमा लिइएका व्यक्तिलाई पुस्तकालयमा राखी सम्बन्धित कसुरलगायतका बारे ज्ञान दिलाइ अब त्यस्तो कार्यमा सरिक नहुने गरी सकारात्मक रूपान्तरण गराउन समेत पुस्तकालय महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

सम्भावनाको संसार देखाउने थलोको रुपमा सर्वसाधारणलाई समेत पहुँच पुर्‍याइने उक्त पुस्तकालयलाई सोहीअनुसार व्यवस्थित गरिने कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । 

यसअघि प्रहरी कर्मचारीको बौद्धिकता बढाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) सञ्चालनमा ल्याएको छ ।