
सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल- खावा सडकखण्डको ठेक्का रद्द गरेको छ ।
आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो ।
कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि- खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले वि. सं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो ।
ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।
सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लोपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । अब प्रक्रिया पुर्याएर पुनः एक दुई हप्तामै पुनः ठेक्का खोल्ने र भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुने कार्यालयका प्रमुख सुमन योगेशले बताए ।
उनका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ ।
समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भएका छन् ।
केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल- खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।