
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल हुने भएको छ ।
चैत १७ गतेदेखि हुने फेस्टिभल इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा हुनेछ । फेस्टिभल ५ दिनसम्म चल्नेछ । महोत्सवमा जापान, भारत, चीन, थाइल्यान्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिंगापुर, नेपालसहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ ।
‘शान्तिका लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जनबढी नाटक प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ वटा गरी १३ वटा नाट्यप्रशिक्षण तथा कार्यशाला पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक-फरक देशका रंगकर्मीहरुले गराउनेछन् ।
पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी ली, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समूहद्वारा कार्यशालाहरु सञ्चालन हुनेछन् ।
तेस्रो दिन फ्रान्सेली नाट्य निर्देशक मेक्सिम सिसड, दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताइवानी थिएटरहरु असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहनेछ ।
अन्तिम दिन सिंगापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समूह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन् । सबै कार्यशालाको समयावधि ३ घण्टाको रहनेछ र कार्यशालामा सहभागी हुन ५०० रुपैयाँ टिकटदर तोकिएको छ ।
हङकङका मोक च्यु अगस्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानवअधिकार, समानताका लागि समर्पित रंगकर्मीहरुको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । विश्वमा प्रजातन्त्र र लोकतन्त्रका लागि आवाज उठाउँदै आएको रंगकर्मीको समूह र नेपालजस्तो पवित्र भूमिमा महोत्सव आयोजना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको महोत्सवका सहअध्यक्ष मोक च्यूले बताए । सयौँ रंगकर्मीको जमघटले रंगकर्मीको सिर्जनाशीलतामा अझै निखार ल्याउने साथै महोत्सवमा हुने वर्कसप तथा छलफल तथा संवादले वैचारिक दृष्टिकोणमा समेत निखार ल्याउन सक्ने उनले बताए ।
यो महोत्सवले कुनै पनि देशको प्रतिनिधित्व गर्ने नभई, देशभित्र रहेका मानिसहरुको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, परम्परा, पहिचान आदिको प्रतिनिधित्व गर्ने सर्वनामका निर्देशक तथा महोत्सवका सहअध्यक्ष अशेष मल्ल बताउँछन् । आफू पनि लामो समयसम्म प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि संर्घष गरिरहेको विगत सुनाउँदै यो महोत्सवमा सबैसँग नाटक तथा संस्कृतिको आदानप्रदान गर्न पाउँदा आफूले अहोभाग्यको रुपमा ठानेको बताए ।
महोत्सवलाई जनमानसमा पुर्याउने हेतुले मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्समा र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमणसमेत हुनेछ । महोत्सवमा फ्रान्सका म्याक्सिम सिसडको अ लिटल बर्ड इन द केज, बेलायतको इन्डी लिको नाटक इट वन्ट बि लङ नाउ, जापानी निर्देशक नात्सुको किरितानीको द ट्रान्स बोर्डर, नेपालबाट नाटककार अशेष मल्लको फेरि अर्को कुरु क्षेत्र, राज शाहको मनोक्रान्तिलगायत नाटक मञ्चन हुनेछन् ।