झापा, फागुन १७ :

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।
  
मेची रङ्गशालामा आज भएको खेलमा झापा- ११ लाई २- ० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो । 

उपाधिसँगै ब्लेजर्सले १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता झापा- ११ ले सात लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
 
भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे । खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई  १- ० को अग्रता दिलाए ।

यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २- ० को जित दिलाए । झापा- ११ ले खेल अवधिभर पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउनुपर्यो । आजको खेलको प्लेयर अफ द म्याच ब्लेजर्सका विशाल दर्जी भए । उनले ट्रफीसहित नगद रू २१ हजार प्राप्त गरे ।
 
गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी भद्रपुर ब्लेजर्सका आशिष चापागाईँ भए । उनले रू एक लाख पाँच हजार नगदसहित ट्रफी प्राप्त गरे । 

प्रतियोगिताको उदीयमान खेलाडी ब्लेजर्सका राजेश शाह, उत्कृष्ट गोलकिपर ब्लेजर्सका टेकेन्द्र थापा, उच्च गोलकर्ता ब्लेजर्सका सत्यम शर्मा, उत्कृष्ट प्रशिक्षक ब्लेजर्सका सचिन्द्र धिमाल भए । उनीहरू सबैले ट्रफीसहित नगद २५ हजार प्राप्त गरे ।