विराटनगर, फागुन २० :

विराटनगरमा आजदेखि  ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

शहीद रङ्गशालामा हुने प्रतियोगितामा छिमेकी राष्ट्र भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी हुने आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए । 

प्रतियोगिता सञ्चालन गर्न एक करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेतालाई नगद ११ लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए । 

प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेका छन् ।