
पुनः निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ ।
वि.सं २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको दरबार ध्वस्त भएको थियो ।
सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दरबारको उद्घाटन गरे । उनले प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई भवन हस्तान्तरण गरे । सहरी विकास मन्त्रालय मातहत दरबार निर्माण भएको हो ।
उपप्रधानमन्त्री सिंहले समग्र अछामको पहिचान बोकेको ऐतिहासिक दरबारलाई सदुपयोग र आउने पिढिलाई यसको महत्वबारे जानकारी दिनुपर्ने बताए । उनले दरबारको विकास र बाँकी संरचना निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
दरबार दुई करोड ४८ लाखमा मा पुनःनिर्माण भएको हो । तीन तला रहेको यस दरबारमा काठको बढी प्रयोग गरी कलात्मक बनाइएको छ ।