पर्सा, फागुन २५ :

दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज (शनिबार) दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् ।
 
मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २- १ गोलअन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । मछिन्द्रले सेमिफाइन खेलमा सहलेश फुटबल क्लब सिराहालाई ३- १ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
 
नेपाल पुलिस क्लबले पनि क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २- १ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाल पुलिस क्लवले सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई ट्राईब्रेकरमा ७- ६ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो । 

शुक्रबार नै दुवै टिमका कप्तानले दोस्रो वीरगञ्ज गोल्डकपको ट्रफी समेत सार्वजनिक गरेका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता  हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ ।  प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।