गण्डकी, फागुन २६ :

गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि ग्रेस गुराँस गुठी युनाइटेड क्लबले जितेको छ । 

बागलुङ जेसीजद्वारा आयोजित उक्त प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई  ट्राइबेकरमा पराजित गर्दै युनाइटेड क्लबले तेस्रो संस्करणको जेसीज कप उपाधि जितेको हो । 

बाङ्गेचौर खेलमैदानमा भएको खेलको निर्धारित समयमा दुवै तर्फको एक/ एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा साविक विजेता बागलुङ सुधार केन्द्रविरुद्ध ४- ३ गोलको जित निकाल्दै युनाइटेड क्लबले उपाधि जितेको हो । 

खेलको दोश्रो हाफको ५६औँ मीनेटमा गुठीका विराज खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै बागलुङ सुधार केन्द्रबाट खेलेका अफ्रिकन खेलाडी अबेक रिचार्जले गोल फर्काएर खेललाई बराबरी गरे । 

अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो । विजेता गुठी युनाइटेड क्लबले दुई लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता बागलुङ सुधार केन्द्रले एक लाख नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्यो ।

प्रतियोगिता अवधिभर विधागत रूपमा उत्कृष्ट खेल्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो । गण्डकी प्रदेशसभाका सदस्य दीपेन्द्रबहादुर थापाले विजेता खेलाडीलाई ट्रफी प्रदान गरे । प्रतियोगितामा ११ टोलीले भाग लिएको बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।