काठमाडौं, फागुन २९ :

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई विवरण बुझाउन ताकेता गरेको छ ।

‘सहकारी संस्थाहरुको नियमन गर्ने अधिकार संविधानतः स्थानीय तहलाई तोकिएबमोजिम काठमाडौं महानगरपालिकाले कानुनी र संरचनागत व्यवस्था मिलाई आफ्नो कार्यक्षेत्रभित्र पर्ने सहकारी संस्थाहरुको दर्ता, प्रवर्धन, अनुगमनलगायतका कार्यहरु गर्दै आएको छ,’ महानगरद्वारा प्रकाशन गरिएको सूचनामा भनिएको छ, ‘यसै सन्दर्भमा महानगरपालिकाको नियामकीय तथा भौगोलिक कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरुका लागि देहायबमोजिम गर्न गराउन यो सूचना प्रकाशन गरिएको छ ।’

यस्तो छ महानगरद्वारा जारी ३ बुँदे सूचना :
१. सहकारी संस्थाहरुले काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (३) र १०४ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा सम्पन्न गरी सभा सम्पन्न भएको मितिले १५ दिनभित्र महानगरपालिकामा वार्षिक प्रतिवेदन पेस गर्नुपर्नेमा हालसम्म पनि केही सहकारी संस्थाहरुले वार्षिक साधारणसभा सम्पन्न गरी आर्थिक वर्ष ०८०/८१ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेस गरेको नदेखिएकाले ती सहकारी संस्थाहरुले अविलम्ब वार्षिक साधारणसभा सम्पन्न गरी साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदनहरु विभागमा पेस गर्नुपर्ने ।

२. काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६(३) बमोजिम विगत २ आर्थिक वर्षदेखि वार्षिक साधारणसभा गरी वार्षिक विभागमा विवरण पेस नगर्ने सहकारी संस्थाहरुलाई निष्क्रिय तथा सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत कार्य गरेको मानी निष्क्रिय सहकारी संस्थाको विवरण सार्वजनिक गर्नुका साथै विभागले संस्था खारेजीको प्रक्रियासमेतको कानुनी कारबाही गर्ने ।

३. काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को परिच्छेद १६ बमोजिम तोकिएको कार्यविधि तथा सूचकबमोजिम महानगरपालिकाको नियामकीय अधिकार क्षेत्रभित्र रहेका सहकारी संस्थाको अनुगमनका लागि महानगरपालिकाबाट खटिई आउने अनुगमन तथा निरीक्षण टोलीलाई आवश्यक सहयोग गर्ने ।