काठमाडाैं, फागुन ३० :

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अभिनेता तथा निर्माता सिताराम कट्टेल (धुर्मुस)को खुलेर प्रशंसा गरेका छन्।

सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘लाज शरणम्’ हेरेपछि बालेनले धुर्मुसको प्रशंसा गरेका हुन्।

चलचित्र हेरिसकेपछि बालेनले धुर्मुसको अभिनय र प्रस्तुतिलाई तारिफ गर्दै भने,‘यस्तो डिटेल दिनुभाछ नि! कस्तो डिटेल दिया हो? लास्टै दामी। लास्टै मजा आयो।’ उनले धुर्मुसलाई अँगालो मार्दै थपे, ‘एकदम राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।’

चलचित्र ‘लाज शरणम्’ मा समावेश ‘नेपाल हाँसेको’ र्‍यापमा बालेनकै स्वर रहेको छ, जुन दर्शकमाझ निकै चर्चित बनेको थियो।

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ मा धुर्मुस मुख्य भूमिकामा छन्। विशेषगरी, धुर्मुसको अभिनय, कथा, प्रस्तुति र सामाजिक सन्देशले धेरै दर्शकको मन जितेको छ। चलचित्रको ब्यापारले पनि यसले राम्रो प्रभाव पार्ने संकेत गरेको छ।